काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुनील लम्साल ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। रास्वपाले उनलाई सरकारको महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पठाउने निर्णय गरेको हो।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को शपथ ग्रहण लगत्तै आजै लम्सालले पनि मन्त्री पदको शपथ लिने तयारी गरिएको छ। शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम रहेको छ।
शपथ ग्रहण सम्पन्न भएलगत्तै नवनियुक्त मन्त्री लम्साल सिंहदरबार पुगेर पदभार ग्रहण गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेर उनले आजैदेखि कार्यभार सम्हाल्ने गरी आवश्यक तयारी पूरा भएको स्रोतले जनाएको छ।
नयाँ सरकार गठनसँगै पूर्वाधार विकास, सडक विस्तार र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउने अपेक्षा लम्सालमाथि केन्द्रित रहेको छ।
