काठमाडौं । विश्व जल दिवसको अवसरमा सिद्धार्थ बैंक लिमिटेड ले काठमाडौंमा ‘वाटर डे वाकाथन’ कार्यक्रम आयोजना गरी स्वच्छ पानी, सरसफाइ र लैङ्गिक समानताप्रति सचेतना फैलाएको छ।
गत वर्षको सफलतापछि दोस्रो पटक आयोजना गरिएको यो वाकाथनले समुदायमा सुरक्षित खानेपानी पहुँच र दिगो जल व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
विश्व जल दिवस प्रत्येक वर्ष मार्च २२ मा मनाइन्छ। यस दिवसले ताजा पानीको महत्व र यसको दिगो व्यवस्थापनमा ध्यान दिन प्रेरित गर्छ। २०२६ को विश्वव्यापी नाराले सुरक्षित पानी, सरसफाइ र लैङ्गिक समानतामा समान पहुँच सुनिश्चित गर्न जोड दिएको छ।
यसै सन्देशलाई आत्मसात गर्दै आयोजित वाकाथन करिब ५ किलोमिटर दूरीमा नक्साल, नारायणचौर, हाटिसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग हुँदै गाईधारासम्म पुगेको थियो। कार्यक्रम नक्सालबाट सुरु भई पुनः त्यहीँ समापन गरिएको थियो।
उक्त कार्यक्रममा कुल ६९७ जनाको सहभागिता रहेको थियो, जसमा २६४ महिला र ४३३ पुरुष सहभागी थिए। सहभागीहरूले पानी संरक्षण, सरसफाइ र समानताको सन्देश लेखिएका प्लेकार्ड बोकेर सडकमा जनचेतना फैलाएका थिए।
बैंकले आगामी आर्थिक वर्षभित्र देशभर नौ स्थानमा खानेपानी शुद्धीकरण प्रणाली जडान गर्ने योजना पनि सार्वजनिक गरेको छ। साथै, सार्वजनिक स्थानमा सरसफाइ अभियान सञ्चालन गर्दै सुरक्षित खानेपानी प्रयोगबारे जनचेतना बढाउने लक्ष्य लिइएको छ।
कार्यक्रमले लैङ्गिक समानतामा पनि विशेष जोड दिएको थियो। पानी व्यवस्थापनमा सबै वर्ग र समुदायको समान पहुँच सुनिश्चित गर्नुपर्ने सन्देशसहित महिला तथा पछाडि परेका समुदायको सहभागिता बढाउन आह्वान गरिएको थियो।
यस अभियानले सामाजिक सञ्जालमार्फत पनि व्यापक सहभागिता जुटाएको थियो, जसले कार्यक्रमलाई समुदाय–केन्द्रित आन्दोलनका रूपमा विस्तार गर्न सहयोग पुर्याएको बैंकले जनाएको छ।
समापन समारोहमा बैंकका अधिकारीहरूले सहभागीप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
समग्रमा, यो वाकाथनले स्वच्छ पानी, सरसफाइ र समानताजस्ता महत्वपूर्ण विषयमा जनचेतना फैलाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
