पोखरा । गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित तालबाराही चोकमा WADA अटो शो २०२६ भव्य रूपमा सञ्चालन भइरहेको छ। यही कार्यक्रम मार्च २५ देखि मार्च २९ सम्म चल्नेछ।
कार्यक्रममा लक्ष्मी ग्रुप अन्तर्गतका ह्युन्डाई, फोर्थिङ र काइयी ब्रान्डका नयाँ मोडेलहरू प्रदर्शनमा राखिएका छन्। विशेष गरी विद्युतीय सवारी साधनप्रति उपभोक्ताको आकर्षण बढेको आयोजकले जनाएको छ।
अटो शोमा फोर्थिङ फ्राइडे ईभी प्रमुख आकर्षण बनेको छ। यो प्रिमियम इलेक्ट्रिक एसयूभीमा ६४.४ किलोवाट आवर ब्याट्री रहेको छ भने यसले करिब ४०० किलोमिटर (WLTP) रेन्ज प्रदान गर्ने क्षमता राख्छ। १८५ मिलिमिटर ग्राउन्ड क्लियरेन्सका कारण यसले पहाडी तथा शहरी दुवै सडकमा सहज सञ्चालन दिने बताइएको छ।
लक्ष्मी ग्रुपका अनुसार उक्त ईभीमा अटो शो अवधिभर करिब ७ लाख रुपैयाँसम्मको विशेष छुट प्रदान गरिएको छ, जसले ग्राहकहरूलाई आकर्षक अवसर दिएको छ।
ह्युन्डाई र काइयीका विभिन्न मोडेलहरूमा पनि एक्सचेन्ज बोनस, बीमा सुविधा र विशेष मूल्य छुट उपलब्ध गराइएको छ। ग्राहकहरूले अटो शोमै नयाँ प्रविधि, डिजाइन र सवारी सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
आयोजकले यो कार्यक्रमलाई केवल बिक्री केन्द्र मात्र नभई प्रविधि, दिगो यातायात र ग्राहक अनुभवको संगमका रूपमा विकास गरिएको जनाएको छ।
अटो शोले पोखरा क्षेत्रमा सवारी साधनप्रति चासो बढाउनुका साथै हरित यातायात प्रवर्द्धनमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
