विराटनगर । शुक्रबार गठन भएको मन्त्रिपरिषद्मा कोशी प्रदेशले प्रधानमन्त्री पद बाहेक अन्य कुनै पनि मन्त्रालयमा प्रतिनिधि पाउन सकेको छैन ।
झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रधानमन्त्री शाहको नेतृत्वमा बनेको १५ सदस्यीय मन्त्रिपरिषद् कोशी प्रदेशबाट अन्य प्रत्यक्ष निर्वाचित सांसदहरूलाई समेटिएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेशमा उल्लेख्य जनमत पाउँदै २८ मध्ये १७ सिट जितेको भए पनि सो क्षेत्रबाट निर्वाचित अन्य सांसदहरू मन्त्री बन्नबाट बाहिर परेका छन् ।
नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री, रक्षामन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका छन् भने स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री, खड्कराज पौडेल (गनेश) पर्यटन मन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री, निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री र खानेपानी मन्त्री, विक्रम तिमिल्सिना सञ्चार मन्त्री, प्रतिभा रावल सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था सहकारी मन्त्री, दीपक साह श्रम रोजगार मन्त्री, सोविता गौतम कानुन मन्त्री, गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री, र सीता वादी महिला, बालबालिका मन्त्री रहेका छन् ।
जसमा प्रधानमन्त्री बालेन नै कोशीको भूगोलबाट निर्वाचन जितेका हुन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हराएका थिए ।
यता, वागमती प्रदेशले सर्वाधिक पाच जना मन्त्री पाएको छ । अन्य ६ प्रदेशले पनि मन्त्रालयमा प्रतिनिधित्व गरेका छन् ।
