बिहानीपख देखिएको सुन्दर बडी मालिका क्षेत्र (तस्बिरहरु)

बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडी मालिका क्षेत्र हिउँले सजिएको छ।बिहानीपख उक्त क्षेत्र सुन्दर देखिएको हो । हिजो दिनभर बाजुरामा भारी वर्षा भएको थियो । त्यस्तै उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।

बडी मालिका बाजुरा मात्र नभई देशकै प्रख्यात धार्मिक स्थल हो । यहाँ हरेक वर्ष जनैपूणिर्माको बेला भव्य पूजाआजा हुने गर्छ। बडी मालिका माताको दर्शन गर्न देश तथा विदेशबाट लाखौँ दर्श नार्थी त्यहाँ जाने गरेका छन् ।

धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको बडी मालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ ।पर्यटकीय सम्भावना बोकेका २२ पाटन, त्रिवेणी, नाटेश्वरी बडी मालिकाका धरोहरका रूपमा परिचित छन् ।

गत साउन १४ गतेदेखि मूल पूजा तथा मेला लागेको बडी मालिकामा साउन २३ गतेसम्म करिब ५० हजार भक्तजनहरूले बडी मालिकाको दर्शन गरेका थिए । बडी मालिका धर्तीको भू—स्वर्गको रूपमा समेत परिचित छ । छिमेकी देश भारतबाट समेत दर्श नार्थी बडी मालिका पुगेका थिए ।

बडी मालिकामा अहिले नेपाली सेनाले करिब २ करोडको लागतमा प्यागोडा शैलीमा बडी मालिका माताको मन्दिर समेत निर्माण गरेकोले बडी मालिका थप प्रख्यात बनेको छ । धार्मिक आस्थाको धरोहर बडी मालिकामा हरेक वर्ष साउन २३ गते अर्थात शुक्ल चतुर्दशीका दिन मेला लाग्ने गर्छ ।

बडी मालिका माताको दर्शनले मागेको वर प्राप्त हुने,मनको मनोकाङ्क्षा पूरा हुने, रोग,व्यादी हट्ने, पुत्र नभएकालाई पुत्र लाभ हुने धार्मिक विश्वासहरू रहेको छ ।