उद्धार चिकित्सामा नयाँ क्षमता विकास

काठमाडौँ । नेपाल मेडिसिटी अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको ‘रिट्रिभल मेडिसिन’ सम्बन्धी एडभान्स ट्रेनिङ अफ ट्रेनर्स (टिओटी) कार्यक्रम सम्पन्न भएको छ।

चैत २३ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त तालिम इमर्जेन्सी मेडिकल रिट्रिभल सर्भिस (इएमआरएस), स्कटल्यान्डसँगको सहकार्यमा आयोजना गरिएको हो। अस्पतालका अनुसार नेपालमा पहिलो पटक सञ्चालन गरिएको यस तालिमको मुख्य उद्देश्य स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

अस्पतालका इमर्जेन्सी तथा हाई अल्टिच्युड सर्भिस प्रमुख डा. सञ्जय कार्कीले तालिमले हेलिकप्टरमार्फत गरिने उद्धार (एयरलिफ्ट) तथा गम्भीर बिरामीको सुरक्षित स्थानान्तरण सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। उनका अनुसार तालिममा चिकित्सक, नर्स तथा प्यारामेडिक्सलाई आपत्कालीन चिकित्सा सेवा र प्रि–हस्पिटल केयर, विशेषगरी हेलिकप्टर रेस्क्यु सम्बन्धी दक्षता अभिवृद्धिमा केन्द्रित गरिएको थियो।

उनले थपे, “यस तालिमले सहभागीहरूलाई भविष्यमा अन्य स्वास्थ्यकर्मीलाई समेत प्रशिक्षण दिन सक्ने प्रशिक्षकको रूपमा विकास गरेको छ।” तालिमका क्रममा बिरामीलाई सुरक्षित रूपमा स्थानान्तरण गर्ने तरिका, हेलिकप्टरभित्रको उपयुक्त व्यवस्थापन र यात्रा अवधिभर गरिने आवश्यक हेरचाहबारे व्यवहारिक अभ्याससमेत गराइएको थियो।

कार्यक्रममा स्कटल्यान्डका विशेषज्ञ प्रशिक्षकहरूसँगै स्वीट्जरल्याण्ड, भारत र जापानका ख्यातिप्राप्त चिकित्सकहरूले अनुभव र सीप आदानप्रदान गरेका थिए। अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमरले यस तालिमले भविष्यमा बिरामीको सुरक्षित स्थानान्तरण र व्यवस्थापनमा स्वास्थ्यकर्मीहरू अझ निपुण हुने विश्वास व्यक्त गरे।

अस्पतालका अनुसार देशभरका विभिन्न सरकारी तथा निजी अस्पतालका करिब ९० प्रतिशत चिकित्सकहरूको सहभागिता रहेको थियो भने नर्स तथा प्यारामेडिक्सतर्फ ३० जनाको उपस्थिति रहेको थियो।

मेडिसिटी अस्पतालकी डा. प्रतीक्षा प्रधानले तालिमबाट आफूहरू केवल सिक्ने मात्र नभई अरूलाई प्रशिक्षण दिन सक्ने स्तरमा पुगेको बताइन्। उनले दुर्घटना वा अन्य आपत्कालीन अवस्थामा बिरामीलाई अस्पताल पुर्‍याउनुअघि सुरक्षित उपचार गर्ने ज्ञानसमेत थपिएको उल्लेख गरिन्।

यस तालिमसँगै नेपालमा आपत्कालीन उद्धार तथा प्रि–हस्पिटल उपचार प्रणाली थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।