काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको विषयमा अनुसन्धानका लागि पक्राउ परेका रमेश लेखकलाई आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।
शनिबार सार्वजनिक बिदा परेकाले हिरासतमा राखिएका उनलाई म्याद थप तथा थप अनुसन्धानका लागि अदालत पुर्याइएको हो। सोही प्रकरणमा पक्राउ परेका केपी शर्मा ओलीलाई पनि आजै अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई आन्दोलनका क्रममा भएको घटनासम्बन्धी प्रतिवेदनका आधारमा कारबाही सिफारिस गरेको थियो।
उक्त आन्दोलनका क्रममा सिंहदरबार, संसद् भवन र राष्ट्रपति भवनसहितका संरचनामा तोडफोड तथा आगजनी भएको विवरण सार्वजनिक गरिएको छ।
यसैबीच, चैत १३ गते गठन भएको प्रधानमन्त्री नेतृत्वको सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि चैत १४ गते दुवै नेतालाई नियन्त्रणमा लिइएको बताइएको छ।
पक्राउपछि स्वास्थ्य परीक्षणका क्रममा केपी शर्मा ओलीलाई चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना गरिएको र रमेश लेखकलाई प्रहरी हिरासतमा राखिएको जनाइएको छ।
