काठमाडौं । नेपाल भलिबल संघ ले प्रधानमन्त्री एनभिए महिला तथा पुरुष भलिबल लिग २०२६ अप्रिल २३ देखि मे २ (२०८३ वैशाख १० देखि १९) सम्म आयोजना हुने घोषणा गरेको छ।
प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सञ्चालन हुनेछ। प्रारम्भमा मार्चमा तय गरिएको यो लिग प्राविधिक कारणले सारेर अप्रिलमा पुनः निर्धारण गरिएको संघले जनाएको छ।
यस प्रतियोगितामा कुल १४ टोली सहभागी हुनेछन्, जसमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ हेप नेपाल स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, एपीएफ क्लब, खलङ्गा युथ क्लब (लुम्बिनी), पश्चिम रुकुम भलिबल टोली, कोशी प्रदेश र बुढानीलकण्ठ भलिबल क्लब सहभागी हुनेछन्।
महिलातर्फ न्यू डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस, एपीएफ क्लब, सुदूरपश्चिम प्रदेश, एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
संघले दुवै श्रेणीमा समान पुरस्कार राशिको व्यवस्था गरेको छ। विजेताले १० लाख रुपैयाँ, उपविजेताले ५ लाख रुपैयाँ र तेस्रो स्थान प्राप्त गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
व्यक्तिगततर्फ उत्कृष्ट खेलाडीलाई ६० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, ब्लकर, लिबेरो, स्पाइकर, सेटर र प्रशिक्षकलाई ३० हजार रुपैयाँ प्रदान गरिनेछ।
प्रतियोगिताको सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजन ले गर्नेछ। संघले कार्यक्रमका लागि करिब १ करोड १५ लाख रुपैयाँ बजेट अनुमान गरेको छ।
काठमाडौँ उपत्यकाबाहिरका खेलाडीलाई दैनिक १,२०० रुपैयाँ भोजन तथा आवास भत्ता र स्थानीय खेलाडीलाई ३०० रुपैयाँ खाजा भत्ता उपलब्ध गराइनेछ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउन प्रत्येक टोलीलाई अधिकतम तीन विदेशी खेलाडी समावेश गर्न अनुमति दिइएको छ। यसका लागि सरकारी नियम र प्रक्रिया अनिवार्य रूपमा पालना गर्नुपर्ने संघले जनाएको छ।
नेपाल भलिबल संघले राष्ट्रिय खेलको विकास र व्यावसायिककरणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै लिगलाई भव्य रूपमा सफल बनाउन आह्वान गरेको छ।
