काठमाडौँ । नेपालको बदलिँदो बैंकिङ वातावरणमा ग्राहकको सही विवरण अद्यावधिक राख्नुपर्ने आवश्यकता बढ्दै गएको सन्दर्भमा महालक्ष्मी विकास बैंक लिमिटेड ले आफ्ना सम्पूर्ण ग्राहकलाई केवाईसी (Know Your Customer) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।
बैंकले हालै जारी गरेको सूचनाअनुसार २०८२ सालमा केवाईसी अपडेटलाई अनिवार्य प्रक्रिया बनाइएको छ, जसले निरन्तर बैंकिङ सेवा सुचारु राख्न र नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारद्वारा तोकिएको नियामक मापदण्ड पालना गर्न सहयोग पुर्याउनेछ।
यस अपडेटको मुख्य उद्देश्य वित्तीय पारदर्शिता बढाउने, बैंकिङ सुरक्षा सुदृढ गर्ने र आन्तरिक राजस्व विभाग तथा आयकर ऐनसँग सम्बन्धित प्रावधानहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रहेको बैंकले जनाएको छ।
बैंकका अनुसार ग्राहकहरूले आफ्नो स्थायी लेखा नम्बर (PAN), सक्रिय इमेल ठेगाना र फोन नम्बर अद्यावधिक गर्नुपर्नेछ। यी विवरणहरूले कर रिपोर्टिङ, डिजिटल बैंकिङ सेवा तथा ग्राहकसँगको सुरक्षित सम्पर्कलाई प्रभावकारी बनाउनेछ।
महत्वपूर्ण नीतिअनुसार प्राकृतिक व्यक्तिले एउटै प्रकृतिको एकभन्दा बढी बचत खाता सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ। हाल धेरै खाता भएका ग्राहकहरूले नजिकैको शाखामा गई एउटा मात्र सक्रिय खाता राखी अन्य खाता बन्द गर्नुपर्नेछ।
बैंकले केवाईसी अद्यावधिक प्रक्रिया सहज बनाउन डिजिटल र भौतिक दुवै माध्यम उपलब्ध गराएको छ। ग्राहकहरूले महालक्ष्मी स्मार्ट साथी मोबाइल बैंकिङ एपमार्फत अनलाइन केवाईसी अपडेट गर्न सक्नेछन्। साथै आवश्यक परेमा शाखामा उपस्थित भई नागरिकता वा अन्य परिचयपत्रका आधारमा फाराम भरेर पनि अपडेट गर्न सकिने व्यवस्था छ।
कर अनुपालन तथा इलेक्ट्रोनिक टिडिएस प्रणालीसँग एकीकृत गर्न पनि यो प्रक्रिया महत्वपूर्ण मानिएको छ। विशेष गरी ५० लाख रुपैयाँभन्दा बढी निक्षेप वा ब्याज आम्दानी भएका ग्राहकले अनिवार्य रूपमा PAN उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ।
केवाईसी अपडेट नगरेमा बैंकिङ सेवामा अवरोध आउन सक्ने, केही अवस्थामा खाता स्थगित हुन सक्ने तथा कर सम्बन्धी कागजातमा समस्या आउन सक्ने चेतावनी पनि दिइएको छ।
ग्राहक सहायता आवश्यक परेमा बैंकको काठमाडौँ दरबारमार्गस्थित केन्द्रीय कार्यालय वा १६६००११५०१५ टोल–फ्री नम्बरमार्फत सम्पर्क गर्न सकिनेछ।
बैंकले सबै ग्राहकलाई समयमै केवाईसी अद्यावधिक गर्न आग्रह गर्दै सुरक्षित, पारदर्शी र आधुनिक बैंकिङ प्रणाली सुनिश्चित गर्न यो कदम आवश्यक भएको जनाएको छ।
