वीरगञ्ज निर्यात वृद्धि

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु ६६ अर्ब ४८ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ।

भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष निर्यातमा सुधार देखिएको छ। गत वर्षको आठ महिनामा रु ५६ अर्ब ५४ करोड बराबरको निर्यात भएको थियो भने यस वर्ष सोही अवधिमा रु ९ अर्ब ९४ करोडले वृद्धि भएको हो।

भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार निर्यात प्रवृत्ति सुधारोन्मुख देखिएको छ। प्रमुख निर्यात वस्तुमा प्रशोधित भटमासको तेल, सूर्यमुखी तेल, पाम तेल, फलफूलको जुस, कपडा तथा अन्य औद्योगिक उत्पादन रहेका छन्।

आठ महिनाको अवधिमा मात्रै रु ३५ अर्ब ५८ करोड बराबरको प्रशोधित भटमासको तेल निर्यात भएको छ। त्यसैगरी रु ४ अर्ब ९७ करोड बराबरको फलफूलको जुस, रु ४ अर्ब ५८ करोड बराबरको सूर्यमुखी तेल, रु ३ अर्ब ७७ करोड बराबरको पाम तेल, रु २ अर्ब ३३ करोड बराबरका कपडा तथा रु १ अर्ब ५८ करोड बराबरको सिन्थेटिक धागो निर्यात भएको तथ्यांकले देखाएको छ।

त्यस्तै, चालु आर्थिक वर्षको आठ महिनामा सोही नाका हुँदै रु ५ खर्ब ९५ अर्ब ४६ करोड बराबरका वस्तु तथा सामान आयात भएको छ। गत वर्षको तुलनामा आयातमा करिब ११ प्रतिशत वृद्धि भएको कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको आठ महिनामा रु ५ खर्ब ३६ अर्ब ५५ करोड बराबरको आयात भएको थियो। यसरी आयात–निर्यात दुवै क्षेत्रमा वृद्धि देखिँदा वीरगञ्ज नाकाको व्यापारिक गतिविधि सक्रिय बनेको छ।