काठमाडौं । अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ।
जिरो वेस्ट एक्सिबिशन २०२६ चैत १६ र १७ गते (मार्च ३०–३१, २०२६) का दिन काठमाडौंको नक्सालस्थित नेपाल कला परिषद्मा आयोजना गरिनेछ।
यो प्रदर्शनी रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गतका ३५ वटा रोटरी क्लब, रोटर्याक्ट तथा इन्टर्याक्ट डिस्ट्रिक्ट ३२९२ र ईएसआरएजी (वातावरणीय दिगोपन रोटरी कार्य समूह) को संयुक्त आयोजनामा हुन लागेको हो।
कार्यक्रमलाई शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभाग, संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपाल तथा वातावरणीय सचेतना सम्बन्धी संस्थाहरूले समर्थन गरेका छन्। साथै, हेकाफ ३६० र ब्लु वेस्ट टु भ्यालु सहकार्य साझेदारका रूपमा रहनेछन्।
“परिवर्तन आफैं बनौँ–फोहोर घटाऔँ, पुनःप्रयोग गरौँ र पुनर्चक्रण अपनाऔँ” भन्ने नारासहित आयोजना हुने प्रदर्शनीको उद्देश्य दिगो जीवनशैली प्रवर्द्धन गर्नु र नागरिक सहभागिता बढाउनु रहेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनःप्रयोग, रिसाइकल तथा अपसाइकलसम्बन्धी नवीन अभ्यास, प्रविधि र उद्यमहरूको प्रदर्शनी गरिनेछ। करिब ४० देखि ५० वटा स्टलमार्फत हरित उद्यमलाई बजारसँग जोड्ने लक्ष्य राखिएको छ।
कार्यक्रमको उद्घाटन रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर रोटेरियन विनोद कोइरालाबाट हुने तय भएको छ।
दोस्रो दिन “बियोन्ड द बिनः जिरो वेस्ट भविष्यका लागि प्रणाली पुनःडिजाइन” शीर्षकमा विशेष प्यानल छलफल हुनेछ। यसमा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, ब्लु वेस्ट टु भ्यालुका सीईओ नविन विकास महर्जन, संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालका अध्यक्ष समिर थापा, वेप्कोकी अध्यक्ष विष्णु थकाली र प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका अध्यक्ष अरुण श्रेष्ठ सहभागी हुनेछन्।
कार्यक्रममा मिस नेपाल २०२३ तथा वातावरण अभियन्ता श्रीच्छा प्रधानले पनि विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
आयोजकका अनुसार यो प्रदर्शनीले प्लास्टिक प्रदूषण, ल्यान्डफिल निर्भरता र फोहोर व्यवस्थापन चुनौती समाधानका लागि सामूहिक प्रयासलाई प्रोत्साहन गर्नेछ। साथै, युवालाई हरित उद्यम र दिगो जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्य लिइएको छ।
