सेरामिक उद्योगको आईपीओ तयारी सुरु

काठमाडौं । नेपाल सेरामिक इण्डष्ट्री लिमिटेड ले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले ३० लाख कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि तयारी थालेको हो।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड लाई नियुक्त गरिएको छ। यस सम्बन्धी सम्झौता सम्पन्न भइसकेको कम्पनीले जनाएको छ।

सम्झौता कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नेपाल सेरामिक इण्डष्ट्री लिमिटेडका अध्यक्ष शम्भुनाथ झाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेड को सहायक कम्पनी हो। धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) का रूपमा स्थापित उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, निष्काशन तथा बिक्री प्रबन्धन, शेयर रजिस्ट्रार तथा सामूहिक लगानी कोषसम्बन्धी सेवा प्रदान गर्दै आएको छ।

कम्पनीको आईपीओ निष्काशनले पूँजी बजारमा थप अवसर सिर्जना गर्ने विश्वास गरिएको छ।