काठमाडौं । सांसद सागर ढकालले राष्ट्रिय रूपान्तरणका लागि बलियो ऊर्जा आधार अपरिहार्य रहेको बताएका छन्। उनले चीन र विकासोन्मुख इथियोपिया जस्ता देशहरूको उदाहरण दिँदै ऊर्जा क्षेत्र नै समग्र विकासको मुख्य आधार बन्न सक्ने उल्लेख गरेका हुन्।
ढकालले नेपालसँग ऊर्जा क्षेत्रमार्फत देशको आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने ठूलो सम्भावना रहेको भन्दै यस अवसरमा बहाना स्वीकार्य नहुने स्पष्ट पारेका छन्। उनले व्यक्तिगत परिणाम जे भए पनि देशको प्रगतिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठ सँग करिब दुई घण्टा लामो भेटवार्तामा आफ्नो धारणा र सुझावहरू प्रस्तुत गरेको पनि जानकारी दिएका छन्।
उक्त भेटमा ऊर्जा क्षेत्रको दीर्घकालीन योजना, सम्भावना र सुधारका विषयमा छलफल भएको बताइएको छ। ढकालले ऊर्जा क्षेत्रलाई नेपालको विकासको मुख्य चालक बनाउने नीति आवश्यक रहेकोमा जोड दिएका छन्।
उनका अनुसार सही नीति र कार्यान्वयन भएमा नेपालले ऊर्जा उत्पादन र निर्यातमार्फत आर्थिक समृद्धि हासिल गर्न सक्ने आधार बलियो छ।
