ई–रिक्सा शक्ति विस्तार

काठमाडौं । सिप्रदी ट्रेडिङ ले नेपाली बजारमा ई–रिक्सा चालकहरूलाई लक्षित गर्दै अत्याधुनिक ‘एक्साइड ई–राइड लिथियम–आयन ब्याट्री’ सार्वजनिक गरेको छ। कम्पनीले यस प्रविधिले चालकहरूको खर्च घटाउने र आम्दानी बढाउने विश्वास व्यक्त गरेको छ।

नयाँ ब्याट्रीलाई परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा बढी आधुनिक, शक्तिशाली र दीर्घकालीन रूपमा उपयोगी बनाइएको कम्पनीको दाबी छ। यो ब्याट्री AIS–156 फेज–२ प्रमाणित हुनुका साथै आईपी ६७ रेटिङसहित पानी र सर्ट सर्किटबाट सुरक्षित रहेको जनाइएको छ।

कम्पनीका अनुसार ब्याट्रीसँगै २५ एम्पियर क्षमताको अत्याधुनिक एसएमपीएस चार्जर पनि उपलब्ध गराइएको छ, जसमा २ वर्षको वारेन्टी छ। यो चार्जरमार्फत ब्याट्री ३ देखि ४ घण्टामै पूर्ण चार्ज गर्न सकिन्छ।

हल्का तौल र उच्च क्षमताका कारण यस ब्याट्रीले बढी माइलेज दिने र निरन्तर पावर सपोर्ट गर्ने बताइएको छ। साधारण लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्ष मात्र हुने भए पनि यो नयाँ लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने कम्पनीको दाबी छ।

बारम्बार पानी थप्ने झन्झट नहुने र मर्मत खर्च न्यून हुने भएकाले यो प्रविधि ई–रिक्सा चालकका लागि आर्थिक रूपमा लाभदायक हुने अपेक्षा गरिएको छ।

कम्पनीले ब्याट्रीमा ३६ महिनाको वारेन्टी समेत प्रदान गरेको छ। नेपालभरका आधिकारिक डिलरमार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जर सेटले ई–रिक्सा व्यवसायीलाई दीर्घकालीन बचत र उच्च कार्यक्षमता दिने कम्पनीले जनाएको छ।