रसुवा । चट्याङका कारण अवरुद्ध बनेको रसुवाको विद्युत् सेवा पुनः सुचारु गरिएको छ। गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ट्रान्सफर्मर उपकरणमा क्षति पुर्याएको थियो।
नेपाल विद्युत् प्राधिकरण शाखाका अनुसार क्षति भएका उपकरणहरू तत्काल प्रतिस्थापन गरी विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याइएको हो। प्राविधिक प्रमुख कुमार घलेका अनुसार चट्याङका कारण चारवटा ट्रान्सफर्मरमा क्षति पुगेको थियो। मौज्दात रहेका नयाँ ट्रान्सफर्मर जडान गरेपछि सेवा पुनः नियमित गरिएको उनले बताए।
चट्याङबाट उत्तरगया गाउँपालिकाको माझगाउँ, गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत धुन्चेको साप्चे, आमा छोदिङ्मो गाउँपालिकाको बहुङडाँडा गोल्जुङ र पुरानो तातोपानी क्षेत्रका ट्रान्सफर्मर प्रभावित भएका थिए। यसका कारण धुन्चे क्षेत्रमा समेत विद्युत् आपूर्तिमा समस्या देखिएको थियो।
जिल्लामा करिब १० हजार ६०० ग्राहक विद्युत् सेवामा आबद्ध रहेका छन्। ट्रान्सफर्मर मर्मत तथा प्रतिस्थापनका लागि प्राधिकरणले तत्काल प्राविधिक टोली परिचालन गरेको शाखा प्रमुख गुञ्जमान तामाङले जानकारी दिए।
