काठमाडौं । अमेरिका, इजरायल र इरानबीच जारी युद्ध पाँचौँ हप्तामा प्रवेश गरेसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि देखिएको छ। सोमबार बिहान कच्चा तेलको मूल्य ३ प्रतिशतभन्दा बढीले बढेर प्रति ब्यारेल ११५ अमेरिकी डलर नाघेको छ।
इरान समर्थित हुथी विद्रोहीहरू युद्धमा प्रत्यक्ष सहभागी हुनुका साथै इरानले होर्मुज जलडमरू बन्द गर्ने चेतावनी दिएपछि विश्व ऊर्जा बजारमा अस्थिरता बढेको हो। विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने मार्गमा अवरोध आउन सक्ने जोखिमका कारण आगामी हप्तामा तेलको मूल्य प्रति ब्यारेल १३० डलरसम्म पुग्न सक्ने विज्ञहरूको अनुमान छ।
यसको प्रत्यक्ष असर नेपालमा पनि देखिएको छ। चैत महिनामै पेट्रोलको मूल्य प्रतिलिटर ३० रुपैयाँ र डिजेल २५ रुपैयाँले बढिसकेको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धि र वैदेशिक मुद्रामा परेको दबाबबीच नेपालमा विद्युतीय सवारी साधन (इभी) प्रति आकर्षण तीव्र रूपमा बढेको छ।
भन्सार विभागको चालु आर्थिक वर्ष २०८२–८३ को पछिल्लो ८ महिनाको तथ्यांकअनुसार नेपालमा १९ हजार ४७७ युनिट विद्युतीय सवारी आयात भएका छन्। यी सवारी आयात गर्दा कुल १६ अर्ब ३३ करोड ७४ लाख ३६ हजार रुपैयाँ बाहिरिएको छ।
देशअनुसार हेर्दा इभी आयातमा चीनको वर्चस्व देखिएको छ। उक्त अवधिमा चीनबाट १६ हजार ३६१ युनिट सवारी ११ अर्ब ४९ करोड ४५ लाख ८३ हजार रुपैयाँ बराबरमा आयात भएका छन्। दोस्रो स्थानमा भारतबाट २ हजार ६५० युनिट सवारी ३ अर्ब ४४ करोड २२ लाख ५५ हजार रुपैयाँमा आयात भएका छन् भने थाइल्याण्डबाट ४४० युनिट सवारी १ अर्ब २४ करोड ३२ लाख ९१ हजार रुपैयाँमा भित्रिएका छन्।
यसैगरी, जर्मनीबाट १० युनिट, अमेरिकाबाट १२ युनिट, कोरियाबाट २ युनिट, अस्ट्रियाबाट १ युनिट र यूकेबाट १ युनिट सवारी आयात भएको तथ्यांकले देखाएको छ।
इभी आयातसँगै राज्यको राजस्व संकलनमा पनि उल्लेख्य योगदान पुगेको छ। ८ महिनामा मात्रै इभी आयातबाट ९ अर्ब ५८ करोड ९२ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। यसमध्ये चीनबाट ६ अर्ब ८१ करोड ९४ लाख र भारतबाट १ अर्ब ८३ करोड २६ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर उकालो लागिरहेका बेला नेपालमा बढ्दो इभी प्रयोगले ऊर्जा सुरक्षामा टेवा पुर्याउनुका साथै वातावरण संरक्षण र आर्थिक भार न्यूनीकरणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
