काठमाडौं । नेपाल वायुसेवा निगम ले काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान सेवा विस्तार गरेको छ। यात्रुको बढ्दो चाप र उडान मागलाई सम्बोधन गर्ने उद्देश्यले निगमले साताको तीन वटा थप उडान सञ्चालन गर्ने निर्णय गरेको हो।
हालसम्म आरए २१७/२१८ नम्बरबाट दैनिक एक उडान हुँदै आएको उक्त रुटमा अब चैत १७ गतेदेखि लागू हुने गरी आरए २०५/२०६ मार्फत हप्ताको मंगलबार, बिहीबार र शनिबार थप उडान सञ्चालन गरिनेछ। यससँगै दिल्लीका लागि निगमको कुल उडान संख्या हप्तामा १० पुगेको छ।
नयाँ तालिका अनुसार काठमाडौंबाट दिल्लीका लागि बिहान ०८:१० बजे जहाज प्रस्थान गर्नेछ भने दिल्लीबाट काठमाडौंका लागि बिहान १०:५० बजे फिर्ता हुनेछ। यसअघि सञ्चालनमा रहेको दैनिक उडान भने यथावत् राखिएको छ, जसअनुसार काठमाडौंबाट दिउँसो १३:२५ बजे उडान भर्ने र दिल्लीबाट साँझ १६:२० बजे काठमाडौं फर्कने व्यवस्था छ।
निगमका अनुसार दिल्ली रुटमा पछिल्लो समय यात्रुको चाप उल्लेख्य रूपमा बढेकाले सेवा विस्तार गरिएको हो। यस कदमले भारत भ्रमणमा जाने नेपाली यात्रु तथा नेपाल आउने भारतीय पर्यटक र व्यवसायीलाई थप सहज र सुविधाजनक यात्रा सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

