काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय ले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षणमा वर्षौंदेखि कायम सिण्डिकेट अन्त्य गर्दै नयाँ व्यवस्था कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ।
मन्त्रीस्तरीय निर्णयअनुसार अब वैदेशिक रोजगारीमा जाने कामदारहरूले नेपाल सरकारको स्वामित्वमा रहेका स्वास्थ्य संस्थाहरू (सरकारी अस्पताल) बाटै स्वास्थ्य परीक्षण गराउन पाउने भएका छन्। चैत १७ गते गरिएको निर्णयपछि मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै इच्छुक सरकारी स्वास्थ्य संस्थाहरूका लागि सूचीकरण खुला गर्ने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार ‘स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ को दफा ३ बमोजिम आवश्यक प्रक्रिया अघि बढाइएको छ। यसअघि वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ४५ क. को उपनियम (९) का कारण सरकारी अस्पताललाई स्वास्थ्य परीक्षण प्रक्रियामा समावेश गर्न अवरोध रहेको मानिन्थ्यो। तर नयाँ निर्णयले उक्त बाधा हटाउँदै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ (१) अनुसार सरकारबाट स्वीकृति प्राप्त संस्थाबाट परीक्षण गराउने व्यवस्थालाई अझ प्रभावकारी बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।
यस व्यवस्थासँगै वैदेशिक रोजगारीमा जाने युवाहरूले अब सस्तो, भरपर्दो र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा पाउने अपेक्षा गरिएको छ। साथै सरकारी अस्पतालहरूलाई प्रक्रियामा समावेश गर्दा स्वास्थ्य परीक्षणका नाममा हुने ठगी तथा नक्कली रिपोर्टको समस्या समेत घट्ने विश्वास मन्त्रालयले व्यक्त गरेको छ।

