काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एआई/एमएल ह्याकाथनको दोस्रो संस्करण आयोजना गर्ने भएको छ।
बैंकले आगामी मे २९ देखि ३१, २०२६ सम्म ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ आयोजना गर्ने जनाएको छ। यसअघि बैंकले गत वर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक यस्तो किसिमको ह्याकाथन आयोजना गरेको थियो, जसमा विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताको उत्साहजनक सहभागिता रहेको थियो।
दोस्रो संस्करणका लागि प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, इन्जिनियर, डेटा वैज्ञानिक, अनुसन्धानकर्ता तथा प्रविधि क्षेत्रका पेशाकर्मीहरूका लागि आवेदन खुला गरिएको छ। इच्छुक सहभागीहरूले मे ४, २०२६ भित्र बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।
प्रतियोगितामा सहभागीहरूले ‘अटोनोमस क्रेडिट एन्ड लेन्डिङ अर्केस्ट्रेटर’, ‘एजेन्टिक फ्रड डिटेक्सन’, ‘मल्टिलिङ्गुअल भ्वाइस बैंकिङ सहायक’ तथा ‘एआई ड्रिभन इन्ट्रुजन डिटेक्सन सिस्टम (आईडीएस)’ जस्ता विषयमा केन्द्रित रही आफ्ना अवधारणाहरू प्रस्तुत गर्नुपर्नेछ।
बैंकका अनुसार यस ह्याकाथनले प्रविधिमा आधारित नवीन बैंकिङ सेवा विकास, डिजिटल बैंकिङमा देखिएका चुनौतीहरूको समाधान तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। उत्कृष्ट टोलीलाई नगद पुरस्कारका साथै बैंकसँग सहकार्य गर्ने अवसर समेत प्रदान गरिनेछ।
ग्लोबल आइएमई बैंक लिमिटेड ले हालसम्म ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, ‘बेस्ट बैंक नेपाल २०२४ र २०२५’, ‘युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५’ तथा ‘बेस्ट बैंक ईएसजी नेपाल २०२४’ लगायतका प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू प्राप्त गरिसकेको छ।
साथै, बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकले ३५२ शाखा, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ।
बैंकले देशभित्र बैंकिङ सेवा प्रदान गर्नुका साथै संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायतका देशहरूबाट रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ।
