काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड ले कैलाली र बाँके जिल्लाका गरिब, विपन्न तथा सीमान्तकृत कासगर समुदायका महिलाहरूको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सिलाई–कटाई मेसिन हस्तान्तरण गरेको छ।
बैंकले मिति २०८२ चैत्र ८ गते कैलालीमा र २०८२ चैत्र १० गते बाँकेमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै उक्त सहयोग प्रदान गरेको हो। कार्यक्रममा कैलालीमा ५ जना र बाँकेमा १० जना गरी कुल १५ जना महिलालाई सिलाई–कटाई मेसिन वितरण गरिएको बैंकले जनाएको छ।
कासगर समुदायका महिलाहरूको जीवनस्तर उकास्ने तथा उनीहरूले सिकेको सीपलाई व्यवहारमा उतार्न सहयोग पुर्याउने लक्ष्यसहित बैंकले यो पहल गरेको हो। यस सहयोगले महिलाहरूलाई साना घरेलु उद्योग स्थापना गर्न प्रेरित गर्नुका साथै उनीहरूको आर्थिक अवस्था सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।
सिलाई–कटाई सीपलाई व्यावसायिक रूपमा प्रयोग गर्दै महिलाहरूले लुगा सिलाउने, मर्मत गर्ने तथा अर्डर अनुसार काम गरी नियमित आम्दानी गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ। यसले परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकको छ।
बैंकका अनुसार यस्तो सहयोगले महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गर्दै आफ्नै घर तथा समुदायमै बसेर आम्दानी गर्ने अवसर सिर्जना गर्नेछ।
सिद्धार्थ बैंक लिमिटेड ले दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकतामा राख्दै समाजको समग्र विकासमा टेवा पुर्याउने उद्देश्यका साथ विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बैंकले जनाएको छ।
