काठमाडौं । नेपाल आयल निगम ले हवाई इन्धनको मूल्यमा उल्लेख्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि निगमले नयाँ दर लागू गरेको जनाएको छ।
नयाँ मूल्य आज बिहान १ बजेदेखि लागू भएको हो। निगमले आन्तरिक उडानतर्फ प्रयोग हुने हवाई इन्धनमा प्रतिलिटर १५० रुपैयाँले वृद्धि गरेको छ। यसअघि १२७ रुपैयाँ प्रतिलिटर रहेको इन्धनको मूल्य अब बढेर २५१ रुपैयाँ पुगेको छ।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि इन्धनको मूल्यमा ठूलो समायोजन गरिएको छ। काठमाडौँका लागि प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेको मूल्यमा ८१८ डलरले वृद्धि गर्दै १,७८४ डलर कायम गरिएको छ।
त्यस्तै, पोखरा र भैरहवाका लागि पनि नयाँ दर तोकिएको छ। पोखरामा प्रति किलोलिटर १,७३२ अमेरिकी डलर र भैरहवामा १,७१६ अमेरिकी डलर कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिको प्रभावका कारण समायोजन गर्नुपरेको हो। यस परिवर्तनसँगै हवाई सेवा सञ्चालनमा लागत बढ्ने भए पनि सेवा निरन्तरता र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको निगमले स्पष्ट पारेको छ।
