सर्वोच्चको नेतृत्व मल्लको काँधमा

काठमाडाैं । सपना प्रधान मल्ल ले आजदेखि कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। सर्वोच्च अदालतको नेतृत्वमा आएको रिक्तता पछि उनी वरिष्ठतम न्यायाधीशको हैसियतमा उक्त जिम्मेवारीमा पुगेकी हुन्।

यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण मंगलबार अवकाश भएपछि सर्वोच्च अदालतको नेतृत्व पद खाली भएको थियो।

नेपालको संविधानको धारा १२९ (९) अनुसार प्रधानन्यायाधीशको पद रिक्त भएमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशले स्वतः कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने व्यवस्था छ। सोही संवैधानिक प्रावधानअनुसार मल्लले यो जिम्मेवारी ग्रहण गरेकी हुन्।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीश अवकाश हुनुअघि नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस भइसक्नुपर्ने भए पनि यसपटक नियुक्ति प्रक्रिया समयमै अघि बढ्न सकेन। न्याय परिषद् ले सर्वोच्च अदालतका ६ जना वरिष्ठतम न्यायाधीशहरूको नामावली संवैधानिक परिषद् मा पठाइसकेको भए पनि परिषद्को बैठक बस्न नसक्दा नियुक्ति प्रक्रियामा ढिलाइ भएको हो।

यसबीच, नयाँ प्रधानन्यायाधीश नियुक्ति नहुँदासम्म मल्लले कामु प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतको नेतृत्व सम्हाल्नेछिन्।