सोपानको आईपीओ खुल्दै, लगानी अवसर बढ्दै

काठमाडाैं । सोपान फर्मास्यूटिकल्स लिमिटेड ले आगामी २०८३ वैशाख २ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशनका लागि कम्पनीले अनुमति पाएको थियो। यसमध्ये ४ लाख २९ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याएर बाँडफाँट भइसकेको छ।

अब बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दर रहेको यस आईपीओको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ रहेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ वैशाख ६ गतेसम्म तोकिएको छ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा म्याद वैशाख १६ गतेसम्म थप हुन सक्ने कम्पनीले जनाएको छ।

यस आईपीओमार्फत आम लगानीकर्तालाई लगानीको नयाँ अवसर प्रदान हुने र पूँजी बजारमा थप सहभागिता बढ्ने अपेक्षा गरिएको छ।