जुम्लामा आर्थिक गणना सुरु, तथ्याङ्क अद्यावधिक हुँदै

जुम्ला । जुम्ला मा आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना सञ्चालन हुने भएको छ। जिल्ला आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र ३ जना सुपरीवेक्षक परिचालन गरिनेछन्।

कार्यालय प्रमुख दीपेन्द्रसिंह धामी का अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न व्यापारिक, सेवा तथा औद्योगिक प्रतिष्ठानहरूको विस्तृत विवरण सङ्कलन गरिनेछ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जुम्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेका छन्। आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका मा सबैभन्दा बढी १ हजार ५८ उद्योग दर्ता रहेका छन् भने गुठिचौर गाउँपालिका मा सबैभन्दा कम २१० उद्योग दर्ता भएका छन्।

यसैगरी कनकासुन्दरी गाउँपालिका मा ३७४, तिला गाउँपालिका मा ३५८, पातारासी गाउँपालिका मा ३०८, सिँजा गाउँपालिका मा २९२, तातोपानी गाउँपालिका मा २६७ र हिमा गाउँपालिका मा २११ प्रतिष्ठान रहेका छन्।

जिल्ला आर्थिक गणना कार्यालयले यसपटक वास्तविक तथा अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी तथ्याङ्क सङ्कलन गरिने जनाएको छ। यस गणनाबाट जिल्लाको आर्थिक गतिविधि, उद्योग–व्यवसायको अवस्था र रोजगारीको स्थितिबारे स्पष्ट चित्र प्राप्त हुने अपेक्षा गरिएको छ।