प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा तय, लाभांश प्रस्ताव अघि

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड ले आगामी वैशाख ९ गते बुधबार आफ्नो ३०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको चैत १७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको तिनकुनेस्थित ‘प्रभु कम्प्लेक्स’ मा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०८१/०८२ को लाभांश प्रस्ताव मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिनेछ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ८.७० प्रतिशत बराबर १४ करोड ७९ लाख ८३ हजार १६५ रुपैयाँको बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत बराबर ७७ लाख ८८ हजार ५८८ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसका साथै सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाबसहितका वित्तीय विवरणहरू पनि अनुमोदन गर्नेछ। बोनस सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजीमा हुने वृद्धि अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज गर्ने जनाएको छ। यसअनुसार चैत २५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउनेछन्।