तरलता व्यवस्थापनमा राष्ट्र बैंकको कदम

काठमाडौँ । नेपाल राष्ट्र बैंक ले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता (नगद) व्यवस्थापन गर्न आज बुधबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ।

बजारमा लगानीयोग्य रकम अत्यधिक बढेपछि राष्ट्र बैंकले ‘निक्षेप संकलन उपकरण’ मार्फत उक्त रकम खिच्ने प्रक्रिया अघि बढाएको हो। मौद्रिक व्यवस्थापन विभागका अनुसार यसका लागि आज चैत १८ गते दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल हुनेछ।

यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाहरूले कम्तीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

संकलित निक्षेप ३९ दिनका लागि हुनेछ र यसको साँवा तथा ब्याज भुक्तानी आगामी २०८३ वैशाख २७ गते गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर भने बोलकबोल प्रक्रियामार्फत प्रतिस्पर्धाका आधारमा निर्धारण गरिनेछ।

नेपाल राष्ट्र बैंक का अनुसार संकलित रकम बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाउने छैनन्। तर, यसलाई वैधानिक तरलता अनुपात (SLR) र तरलता अनुपातमा भने समावेश गर्न सकिनेछ।

त्यसैगरी, यो निक्षेपलाई अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने सुविधा पनि दिइएको छ। सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखी रकम बाँडफाँड गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।