तालिम शुल्कमा कडाइ, श्रमिक संरक्षणमा जोड

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूका लागि सञ्चालन हुने पूर्व–प्रस्थान अभिमुखीकरण (ओरिएन्टेसन) तालिममा तोकिएको भन्दा बढी शुल्क नलिन चेतावनी दिएको छ।

विभागले मंगलबार सूचना जारी गर्दै कार्यविधि विपरीत शुल्क असुल्ने तालिम प्रदायक संस्थामाथि कडा कारबाही गरिने स्पष्ट पारेको हो।

अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि, २०७६ अनुसार प्रति प्रशिक्षार्थी ७०० रुपैयाँ मात्र शुल्क लिन पाइने व्यवस्था छ। तर केही संस्थाहरूले सोभन्दा बढी रकम असुल गरेको गुनासो आएपछि विभागले निगरानी र कारबाही प्रक्रिया कडा बनाएको जनाएको छ।

विभागका अनुसार यदि कुनै तालिम प्रदायक संस्थाले तोकिएको शुल्कभन्दा बढी रकम लिएको पाइएमा सो संस्थाको इजाजतपत्र स्वतः रद्द गरिनेछ। साथै, यस्तो अनियमितता देखिएमा श्रमिक तथा सरोकारवालाहरूलाई तत्काल विभागमा उजुरी गर्न आग्रह गरिएको छ।

वैदेशिक रोजगारीका नाममा हुने ठगी र अतिरिक्त आर्थिक भार रोक्न अनुगमनलाई अझ प्रभावकारी बनाइने विभागले जनाएको छ। यस कदमले श्रमिकको अधिकार संरक्षण र वैदेशिक रोजगार प्रक्रियालाई पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।