काठमाडौँ । भूमि समस्या समाधान आयोग ले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी ९ हजार १२ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ।
आयोगले निवेदन दर्ता गरेका परिवारहरूको विवरण प्रमाणीकरण गरी सम्बन्धित निकायमार्फत पुर्जा वितरण गरेको हो। जिल्ला समितिबाट सिफारिस भएका नामहरूलाई भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालय मा पठाइएपछि सरकारले आवश्यक परीक्षण गरी पुर्जा वितरणको अनुमति दिएको आयोगले जनाएको छ।
आयोगका विज्ञ सदस्य टेकबहादुर शाहका अनुसार एकद्वार प्रणालीमार्फत स्थानीय तहसँग समन्वय गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीको लगत संकलन गरिएको थियो। वडा र पालिकास्तरको प्रमाणीकरणपछि योग्य परिवारलाई मात्रै पुर्जा वितरण गरिएको हो।
आयोगले सार्वजनिक स्थल, सांस्कृतिक सम्पदा तथा अतिक्रमण गरेर बनाइएका बस्तीहरूलाई भने प्रमाणीकरण नगर्ने स्पष्ट पारेको छ।
यो वितरणले भूमिहीन परिवारलाई कानुनी स्वामित्वको सुनिश्चितता दिँदै उनीहरूको आवासीय स्थायित्वमा महत्वपूर्ण राहत पुग्ने अपेक्षा गरिएको छ।
