बजेट तयारीमा मितव्ययी मार्गदर्शन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अर्थ मन्त्रालय ले बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन तयार गरी सबै मन्त्रालयमा पठाएको छ।

सरकारले संविधानअनुसार जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने दायित्व पूरा गर्न तयारी अघि बढाएको हो। मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयका अनुसार आगामी बजेटका प्राथमिकताहरू समेटेर मार्गदर्शन तयार गरिएको छ र सबै निकायलाई यसबारे जानकारी दिइसकिएको छ।

आगामी बजेटमा आर्थिक अनुशासन र खर्चमा मितव्ययीतालाई मुख्य प्राथमिकता दिइने भएको छ। सोहीअनुसार मन्त्रालयहरूलाई तयारी पूरा भएका आयोजना, तत्काल ठेक्का प्रक्रिया अगाडि बढ्न सक्ने आयोजना तथा प्रोजेक्ट बैंकमा सूचीकृत योजनाहरू मात्र प्रस्ताव गर्न निर्देशन दिइएको छ।

सहसचिव पाण्डेयले भने, “आर्थिक अनुशासन र खर्च मितव्ययिता सुनिश्चित गर्ने गरी बजेट निर्माणको तयारी भइरहेको छ।”

स्रोत अनुमान समितिले राजस्व, वैदेशिक सहायता लगायतका आधारमा स्रोत अनुमान प्रतिवेदन तयार पारेको छ र त्यसअनुसार मन्त्रालयहरूलाई बजेट सिलिङ पनि पठाइएको छ। गत वर्षको तुलनामा यस वर्ष कम बजेट सिलिङ प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा नयाँ सरकारका प्राथमिकता तथा विभिन्न नीतिगत प्रतिबद्धतालाई समेत समेट्ने तयारी भइरहेको छ।