काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धको खर्च व्यहोर्न अरब राष्ट्रहरूलाई आह्वान गर्न इच्छुक रहेको ह्वाइट हाउसले जनाएको छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्पले युद्धको आर्थिक भार बाँडफाँड गर्न मध्यपूर्वका अरब राष्ट्रहरूलाई सहभागी गराउने विषयमा चासो देखाएका हुन्।
यसैबीच पेन्टागनका अधिकारीहरूले अमेरिकी कंग्रेसलाई दिएको जानकारी अनुसार इरानविरुद्धको युद्धको प्रारम्भिक छ दिनमै ट्रम्प प्रशासनले ११.३ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च गरिसकेको छ।
वाल स्ट्रिट जर्नल ले प्रकाशित गरेको रिपोर्टअनुसार उक्त तथ्याङ्कमा युद्धका कारण भएको क्षति तथा सैन्य सामग्रीको पुनःपूर्ति खर्च समावेश गरिएको छैन।
त्यसैगरी अमेरिकी इन्टरप्राइज इन्स्टिच्युटका लागि खर्चको विश्लेषण गरिरहेकी पूर्व पेन्टागन बजेट अधिकारी एलेन म्याककुस्करलाई उद्धृत गर्दै रिपोर्टमा युद्धको पहिलो तीन हप्तामा खर्च करिब १.४ अर्बदेखि २.९ अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
युद्धको उच्च खर्च र त्यसको दीर्घकालीन आर्थिक प्रभावबारे अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्दै गएको छ।
