तथ्य स्पष्ट, भ्रम चिर्दै नेपाल लाइफ

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित ३७ करोड रुपैयाँ दुरुपयोग सम्बन्धी समाचारप्रति कडा खण्डन गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै ती समाचारहरू भ्रामक, आधारहीन र सत्यहीन रहेको स्पष्ट पारेको हो ।

केही दिनयता विभिन्न सञ्चार माध्यममा दिपक भट्टले नेपाल लाइफको सहायक कम्पनीबाट ३७ करोड रुपैयाँ दुरुपयोग गरी नेपाल रिइन्स्योरेन्स कम्पनीको शेयर खरिद गरेको भन्ने दाबी गरिएको थियो । ती समाचारमा भट्टले धितोपत्र दलाल नं. ५५ अर्थात् भृकुटी स्टक ब्रोकर कम्पनीमार्फत उक्त रकम भुक्तानी गरेको उल्लेख गरिएको थियो ।

उक्त विषयमा ध्यानाकर्षण भएको जनाउँदै नेपाल लाइफले विज्ञप्तिमा यस्तो कुनै पनि कारोबार वा संलग्नता नरहेको स्पष्ट पारेको छ । “यस कम्पनीको नाम जोडेर प्रकाशित गरिएका समाचारमा उल्लेख गरिएअनुसार दिपक भट्ट वा धितोपत्र दलाल नं. ५५ सँग कुनै पनि प्रकारको सम्बन्ध वा कारोबार नभएको जानकारी गराउँछौं,” कम्पनीले जनाएको छ ।

कम्पनीले आफूले सधैं प्रचलित कानुन, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरू पालना गर्दै आएको दाबी गरेको छ । साथै, यस्ता भ्रामक समाचारप्रति सजग रहन र भ्रममा नपर्न सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

नेपाल लाइफले यस्ता समाचारहरूले संस्थाको व्यावसायिक मर्यादा र छविमा असर पुर्‍याउने प्रयास भएको संकेत गर्दै तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न अपिल गरेको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार