जुम्ला । कर्णाली राजमार्ग सडकखण्डअन्तर्गत वर्षौँदेखि अलपत्र अवस्थामा रहेका दशवटा रुग्ण ठेक्का एकैपटक तोड्ने प्रक्रिया सुरु गरिएको छ । सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गर्दै समयमै काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरूसँगको सम्झौता अन्त्य गर्ने पहल अघि बढाएको हो ।
कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार ६ वटा निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौता अन्त्य गरिएको सम्बन्धमा १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोट जिल्लाको दहीखोला–मान्म–नाग्म–जुम्ला खण्डमा पर्ने शाखा सडकहरूमा सडक सुरक्षा व्यवस्थापनका कामहरू समेटिएका थिए । जुम्लाको कुडारीदेखि कालीकोटसम्म कल्भर्ट निर्माण, संरक्षण तथा विशिष्ट मर्मतकार्यका लागि आर्थिक वर्ष २०७८/७९ मा धुर्वा निर्माण सेवासँग सम्झौता भएको थियो । तर तोकिएको समयमा काम सम्पन्न नभएपछि पटकपटक म्याद थप गरिए पनि अन्ततः ठेक्का तोडिएको जनाइएको छ ।
त्यसैगरी, कालीकोटको बालीघाट नजिकै विशेष मर्मतकार्य तथा खुल्लालु–घोडेङ्गा खण्डको आवधिक मर्मतसम्भारका लागि आर्थिक वर्ष २०७९/८० मा कृष्ण निर्माण सेवासँग गरिएको सम्झौता पनि समयमै काम सम्पन्न नभएकाले रद्द गरिएको छ ।
मुगुको नाग्म–गमगडी सडकखण्डअन्तर्गत ताल्चादेखि रारासम्मको विशिष्ट मर्मतकार्यका लागि आर्थिक वर्ष २०७९/८० मा अविनास निर्माण सेवासँग सम्झौता भएको थियो । यस्तै, रारा क्षेत्रको सडक फराकिलो बनाउने, फुटपाथ निर्माणलगायतका कामका लागि आर्थिक वर्ष २०८०/८१ मा विनाम्रा निर्माण सेवासँग सम्झौता गरिए पनि अपेक्षित प्रगति हुन सकेको छैन ।
लामो समयदेखि अलपत्र रहेका यी आयोजनाहरूको ठेक्का तोड्ने निर्णयले अब नयाँ प्रक्रियामार्फत निर्माण कार्य अघि बढ्ने अपेक्षा गरिएको छ । साथै, यस कदमले कर्णाली क्षेत्रको सडक पूर्वाधार सुधारमा गति आउने विश्वास गरिएको छ ।
