विप्रेषणमा उत्साहजनक वृद्धि

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा विप्रेषण आप्रवाह उल्लेखनीय रूपमा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार साउनदेखि फागुन मसान्तसम्म कुल १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले मात्र वृद्धि भएको थियो । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकि अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।

अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाहमा वृद्धि देखिएको छ । समीक्षा अवधिमा यस्तो आप्रवाह ३१.० प्रतिशतले बढेर १० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो वर्ष ७.१ प्रतिशतले मात्र बढेको थियो ।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ थियो ।

वैदेशिक रोजगारीतर्फ भने नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्यामा केही कमी आएको देखिएको छ । फागुन मसान्तसम्म २ लाख ७३ हजार ५३६ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् भने २ लाख ५१ हजार ९८५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्ष सोही अवधिमा क्रमशः ३ लाख १७ हजार ६८ र २ लाख १७ हजार ४०३ जना रहेका थिए ।

यद्यपि, पछिल्लो समय इसरायल–इरान युद्धका कारण मध्यपूर्वका देशहरूमा उत्पन्न तनावले त्यहाँ कार्यरत नेपाली श्रमिक प्रभावित भएका छन् । रेमिट्यान्सको ठूलो हिस्सा आउने ती देशहरूमा बढ्दो अस्थिरताले आगामी दिनमा विप्रेषण आप्रवाहमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

हालको वृद्धिले अर्थतन्त्रमा सकारात्मक संकेत देखाए पनि अन्तर्राष्ट्रिय परिस्थितिले भविष्यमा चुनौती थप्न सक्ने देखिएको छ ।

  • Clock icon
    २०८२ चैत्र २०, शुक्रबार