काठमाडौं । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण ४७ खर्ब ४४ अर्ब ७३ करोड रुपैयाँभन्दा माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ फागुन मसान्तसम्म बजार पुँजीकरण २०८१ को सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो ।
अघिल्लो वर्ष सोही अवधिमा बजार पुँजीकरण ४५ खर्ब ४३ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । यससँगै नेप्से परिसूचक पनि बढ्दै २ हजार ७३६.४९ अंकबाट बढेर २ हजार ८२०.४५ अंकमा पुगेको छ ।
तर, बजार पुँजीकरणको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात भने केही घटेको देखिएको छ । २०८१ फागुनमा जीडीपीको ७९.५९ प्रतिशत रहेको अनुपात २०८२ फागुनमा घटेर ७७.६९ प्रतिशतमा पुगेको छ ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेर २८६ पुगेको छ, जुन अघिल्लो वर्ष २६८ थियो । सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी १३३, जलविद्युत् कम्पनी ९७, उत्पादन तथा प्रशोधन उद्योग २७, होटल ८, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका १० कम्पनी रहेका छन् ।
बजार पुँजीकरणको संरचनामा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको प्रभुत्व ५२.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् क्षेत्रको १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटल क्षेत्रको ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ ।
नेप्सेमा सूचीकृत कुल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य ९११ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको आठ महिनामा ७० अर्ब ४६ करोड रुपैयाँ बराबरका धितोपत्र सूचीकृत भएका छन् । यसमा साधारण सेयर, बोनस सेयर, हकप्रद सेयर, म्युचुअल फन्ड, डिबेन्चर, एफपीओ लगायतका धितोपत्र समावेश छन् ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डले विभिन्न सार्वजनिक निष्कासनका लागि ३७ अर्ब १ करोड रुपैयाँ बराबरको अनुमति दिएको छ । यसमा म्युचुअल फन्ड, साधारण सेयर, हकप्रद सेयर, डिबेन्चर तथा एफपीओ समावेश रहेका छन् ।
