काठमाडौँ । विवादित व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेसँगै हिमालयन रि–इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल भारत प्रस्थान गरेकी छन् । अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा अन्य व्यक्तिहरू पनि तानिने सम्भावना देखिएपछि उनी डेढ साताको बिदा लिएर बैंगलोर गएको स्रोतले जनाएको छ ।
तर कम्पनीका प्रवक्ता शिशिर गैरेले भने सीईओ पौडेल उपचारका लागि भारत गएको दाबी गरेका छन् ।
यसअघि ‘जेनजी आन्दोलन’का क्रममा हिल्टन होटलमा भएको तोडफोड र आगजनीपछि बीमा दाबी भुक्तानी प्रक्रियामा ‘सेटिङ’ गरेको आरोपमा नेपाल बीमा प्राधिकरणले हिमालयन रि–इन्स्योरेन्समाथि कारबाही गरिसकेको छ ।
प्राधिकरणले नियमविपरीत कार्य गरेको भन्दै कम्पनी र सीईओ पौडेललाई जनही २ लाख रुपैयाँ जरिवाना गरेको थियो । साथै, दीपक भट्टको लगानी रहेको हिमालयन रि, हिमालयन लाइफ र एलायन्स पुनर्बीमा ब्रोकरमाथि पनि कारबाही भएको थियो भने एलायन्सको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ ।
हिल्टन होटल प्रकरणमा करिब ४ अर्ब रुपैयाँ क्षति भएको घटनामा पुनर्बीमा दायित्व व्यवस्थापनमा गम्भीर लापरबाही भएको आरोप छ । उक्त दायित्व नियमविपरीत नेपाल रि–इन्स्योरेन्समा सारिएको विषयमा प्राधिकरणले अहिले पनि सूक्ष्म अनुसन्धान गरिरहेको छ ।
यसैबीच कम्पनीभित्रको विवाद चुलिँदै जाँदा अध्यक्ष शेखर गोल्छाले राजीनामा दिइसकेका छन् । पछिल्लो समयमा व्यवसायी भट्टले कम्पनीकै चेक प्रयोग गरी सेयर खरिद गरेको र त्यसमा सीईओ पौडेलले पदीय मर्यादाविपरीत सहयोग गरेको आशंका समेत उठाइएको छ ।
