दुबई । गत वर्ष करिब २ करोड अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गर्दै विश्वकै प्रमुख पर्यटन गन्तव्यमध्ये एक बनेको दुबई अहिले अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण गम्भीर पर्यटन संकटमा परेको छ । युद्धको प्रभावले यहाँको पर्यटन, होटल तथा रेस्टुरेन्ट व्यवसाय ठूलो दबाबमा परेको छ ।
सामान्यतया साँझपख पर्यटक र स्थानीयले भरिने दुबईका रेस्टुरेन्टहरू अहिले खाली देखिन थालेका छन् । व्यवसायीहरूका अनुसार विगत एक महिनादेखि ग्राहक आगमन उल्लेख्य रूपमा घटेको छ, जसले आम्दानीमा ठूलो गिरावट ल्याएको छ ।
सन् २०१४ देखि दुबईमा व्यवसाय विस्तार गर्दै आएकी नताशा सिडेरिसको समूहले अहिले देशभर १४ वटा शाखा सञ्चालन गर्दै करिब १ हजारभन्दा बढी कर्मचारीलाई रोजगारी दिएको छ । तर युद्धका कारण उनका रेस्टुरेन्टहरूको आम्दानी करिब ५० प्रतिशतले घटेको छ भने पर्यटकमा निर्भर शाखाहरूको आम्दानी ८० प्रतिशतसम्मले घटेको छ । यस संकटका कारण उनले कर्मचारीको तलबमा ३० प्रतिशत कटौती गर्नुपरेको छ ।
रेस्टुरेन्ट क्षेत्रका अन्य व्यवसायीहरूले पनि २० प्रतिशतभन्दा बढी ग्राहक घटेको बताएका छन् । केही शाखाहरू अस्थायी रूपमा बन्द गरिएको छ भने धेरै कर्मचारीलाई बेतलबी बिदामा पठाइएको छ ।
दुबईको पर्यटन क्षेत्रमा मात्र नभई होटल, ट्राभल एजेन्सी र एयरलाइन्स क्षेत्रसमेत प्रभावित भएका छन् । गत वर्ष करिब ९ करोड ५० लाख यात्रुलाई सेवा दिएको दुबई अन्तर्राष्ट्रिय विमानस्थल अहिले अपेक्षाकृत सुनसान देखिन थालेको छ । युद्ध सुरु भएयता हजारौँ उडानहरू रद्द भएका छन् भने होटलहरूको बुकिङ दर २० प्रतिशतभन्दा तल झरेको छ ।
ट्राभल बुकिङ कम्पनी ‘वेगो’ का चिफ बिजनेस अफिसर मामुन हमिदेनका अनुसार अहिलेको अनिश्चितताले सम्पूर्ण पर्यटन क्षेत्र अस्तव्यस्त बनेको छ ।
सुरक्षा क्षेत्रमा पनि असर देखिएको छ । युएईलाई लक्षित गरी हजारौँ ड्रोन र मिसाइल आक्रमणको प्रयास भए पनि अधिकांश विफल बनाइएको छ । यद्यपि केही स्थानमा क्षति भएको र हालसम्म ११ जनाको मृत्यु तथा १८५ जना घाइते भएको विवरण सार्वजनिक गरिएको छ ।
पर्यटनसँग सम्बन्धित ठूला कार्यक्रमहरू र व्यापारिक सम्मेलनहरू पनि रद्द वा स्थगित भएका छन् । छोटो अवधिको बुकिङ रद्द हुने क्रम बढेसँगै लाखौँ डलरको नोक्सानी भएको अनुमान गरिएको छ ।
यसैबीच, श्रमिक वर्ग सबैभन्दा बढी प्रभावित बनेका छन् । धेरै आप्रवासी कामदारहरू बेतलबी बिदामा पठाइएका छन् भने रोजगार कटौतीको डर बढेको छ ।
अक्सफोर्ड इकोनोमिक्सका अनुसार यस वर्ष खाडी क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या करोडौँले घट्न सक्छ, जसले ठूलो आर्थिक क्षति पुर्याउनेछ । यद्यपि, दुबई सरकारले करिब २७ करोड डलर बराबरको राहत प्याकेज घोषणा गर्दै पर्यटन पुनरुत्थानको प्रयास सुरु गरेको छ ।
व्यवसायीहरू भने तत्काल सुधारको सम्भावना कम देख्दै केही महिनासम्म पर्ख र हेरको अवस्थामा रहेका छन् । उनीहरूले भविष्यमा पर्यटन पुनः चलायमान हुने आशा भने कायमै राखेका छन् ।
