सहकारी कारबाही तीव्र

काठमाडौँ । सहकारी ठगी प्रकरणमा प्रहरीले दुई सहकारीका अध्यक्ष र व्यवस्थापकसहित ५ जना पदाधिकारीलाई पक्राउ गरेको छ । बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको आरोपमा गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी र गौतमश्री बहुउद्देश्यीय सहकारीका पदाधिकारीलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेडका अध्यक्ष इमानसिंह राईसहित चार जनालाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा संस्थाका मुख्य कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उक्त सहकारीमा १० हजार ५९८ जना बचतकर्ताको कुल ४ अर्ब ५ करोड ६० लाख ६८ हजार ४५८ रुपैयाँ बचत रहेको पाइएको छ । तर संस्थाको अभिलेखमा १ अर्ब ४९ करोड १६ लाख ३३ हजार ९२४ रुपैयाँ मात्र ऋण तथा लगानी प्रवाह भएको देखिएको छ । बाँकी रकमको हिसाब नदेखिएको र केही ऋण बिना धितो वा कमसल धितोमा प्रवाह गरिएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यसैगरी, कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका व्यवस्थापक रविन विष्टलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट नियन्त्रणमा लिएर थप अनुसन्धान तथा म्याद थपका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रहरीका अनुसार यस सहकारीले बचतकर्ताको साढे ५ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आशंका छ ।

पछिल्लो समय सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएपछि पीडित बचतकर्ताहरूले उजुरी दिन थालेसँगै प्रहरी कारबाही तीव्र बनाइएको छ । सरकारले पनि पीडितको बचत फिर्ता गर्ने विषयलाई प्राथमिकतामा राख्दै सरोकारवालासँग छलफल अघि बढाएको छ । साथै, १०० दिनभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी पनि भइरहेको बताइएको छ ।