काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ५६ दिनका लागि ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थामा देखिएको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले यो उपकरण प्रयोग गर्न लागेको हो ।
केन्द्रीय बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता र ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण तथा स्थायी निक्षेप सुविधा प्रयोग गर्दै आएको छ । यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् ।
दीर्घकालीन निक्षेप संकलनको रकम बोलकबोल प्रक्रियाबाट बाँडफाँट गरिनेछ । काउन्टर पार्टीहरूले प्रस्ताव गरेका ब्याजदरअनुसार सबैभन्दा कम दरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।
अनलाइन प्रणालीमार्फत हुने बोलकबोलमा ब्याजदर प्रतिस्पर्धात्मक रूपमा निर्धारण हुनेछ । आजको निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २०८३ वैशाख २७ गते गरिनेछ ।
न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले खुला बजार कारोबारअन्तर्गत आवश्यकताअनुसार दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै वित्तीय बजारलाई सन्तुलनमा राख्दै आएको छ ।
