काठमाडौँ । लगानी बोर्ड नेपालले लगानीकर्ता सहजीकरण तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेको छ । एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी सेवा प्रवाहलाई प्रभावकारी बनाउन यो डेस्क स्थापना गरिएको हो ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार डिजिटल रूपमा एकल विन्दु सेवा केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको छ । त्यसको प्रारम्भिक चरणमा लगानीकर्तालाई थप सहज वातावरण उपलब्ध गराउन डेस्क स्थापना गरिएको हो ।
उनका अनुसार डेस्कमार्फत लगानीकर्ताले लगानीसम्बन्धी जानकारी लिन, समस्या राख्न तथा गुनासो दर्ता गर्न सक्नेछन् । यसले लगानी प्रक्रियालाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
लगानी बोर्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग समन्वय गर्दै एकल विन्दु सेवा केन्द्र सञ्चालनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्ने तयारी गरेको छ । साथै, सरकारी निकाय तथा विभागहरूसँग समन्वय गर्ने, अनलाइन पोर्टल सञ्चालन गर्ने र सेवा प्रवाहलाई डिजिटल बनाउने कार्ययोजना पनि अघि सारिएको छ ।
त्यसैगरी, एकल विन्दु सेवा सम्बन्धी कार्यविधिको मस्यौदा स्वीकृतिका लागि पेस गर्ने र आवश्यक बजेट सुनिश्चित गर्ने तयारी समेत गरिएको छ ।
२०८२ चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले स्वदेशी तथा वैदेशिक लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन लगानी बोर्ड नेपालअन्तर्गत एकद्वार प्रणाली स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।
