अर्याल प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा रास्वपा सभापति रवि लामिछानेले अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, तथा भौतिक पूर्वाधार तथा यातायात एवं शहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

अर्यालको मात्र प्रस्ताव परेपछि उनी निर्विरोध निर्वाचित भएको सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले घोषणा गरे । उनले नवनिर्वाचित सभामुख अर्याललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित सभामुख अर्याल काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । पार्टी सभापति लामिछाने सहकारी ठगी अभियोगमा पक्राउ परेका बेला उनले रास्वपाको नेतृत्व सम्हालेका थिए ।

त्यसैगरी अर्यालले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समेत सम्हालिसकेका छन् ।