काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को शनिबार तय गरिएको बोर्ड बैठक उपाध्यक्ष रोशन सिंहसहित केही सदस्य अनुपस्थित भएपछि स्थगित गरिएको छ । सबै सदस्यको उपस्थिति सुनिश्चित गर्न बैठक सोमबारका लागि सारिएको क्यानले जनाएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल)को खर्च विवरण माग गर्दै उपाध्यक्ष सिंहसहित आठ बोर्ड सदस्यले गत जेठमा क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाउनेमा रोशन सिंह, दुर्गा पाठक, विक्रम विष्ट, माधव कर्माचार्य, वीरेन्द्र चन्द, अर्जुन पौडेल, प्रदीप मजगैया र जयन्ती भट्ट रहेका छन् ।
क्यानले उक्त खर्च विवरण हालसम्म उपलब्ध नगराएको भन्दै ती सदस्यहरूले शनिबारको बैठक बहिष्कार गरेको स्रोतले जनाएको छ ।
शनिबारको बैठकमा साधारण सभा, बजेट, वार्षिक कार्यक्रम र अडिट रिपोर्ट मुख्य एजेन्डाका रूपमा राखिएको थियो । तर बैठक स्थगित भएपछि सोमबार पुनः बस्ने निर्णय गरिएको हो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार सबै सदस्यको सहभागिता सुनिश्चित गर्न बैठक सारिएको हो । उनले केही सदस्य बाहिर रहेकाले अनौपचारिक छलफल भए पनि औपचारिक बैठक सोमबारका लागि तय गरिएको बताए ।
