सगरमाथा मार्केटिङको कारोबार बढ्यो

काठमाडौं । खुकुरी रमसहित विभिन्न ब्रान्डका मदिरा बिक्री गर्ने सगरमाथा मार्केटिङले चालु आर्थिक वर्षको ७ महिनामा ५ अर्ब ५० करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कम्पनीका अनुसार सन् २०२५ मा ६ अर्ब १० करोड ५० लाख, सन् २०२४ मा ५ अर्ब ७७ करोड ३० लाख, सन् २०२३ मा ५ अर्ब ५२ करोड ७० लाख र सन् २०२२ मा ६ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

द नेपाल डिस्टिलरिज प्रालिद्वारा उत्पादित खुकुरी रम, न्यूड भोड्का, कर्दा रम र एरिस्टोक्र्याट ह्विस्कीको बिक्री गर्दै आएको कम्पनीले आर्थिक सुस्तताका बाबजुद ५ देखि ६ प्रतिशतसम्म व्यापार वृद्धि भएको जनाएको छ ।

कम्पनीको कुल आम्दानीमध्ये खुकुरी एक्सएक्सएक्स रमबाट मात्रै करिब ८७ प्रतिशत हिस्सा रहने गरेको रेटिङमा उल्लेख छ । गत आर्थिक वर्षमा कम्पनीको कारोबार नाफा ३.५ प्रतिशतबाट घटेर २.५ प्रतिशतमा झरेको भए पनि चालु आवमा व्यापारमा पुनः सुधार देखिएको छ ।

कम्पनीका अनुसार हालको सात महिनामा व्यापार ३.२ प्रतिशतले वृद्धि भएको छ । चिसो मौसममा विशेषगरी पुस र माघ महिनामा कम्पनीको ६५ देखि ७० प्रतिशतसम्म कारोबार हुने गरेको छ ।

हेमन्तराज प्रसाईंको ६० प्रतिशत र दत्तराम प्रसाईंको ४० प्रतिशत स्वामित्व रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६९ करोड रुपैयाँको रेटिङसमेत गराएको छ ।