यामाहासँग जोडियो पीएम कप

काठमाडौँ । प्रधानमन्त्री कप २०२६ का लागि ‘पावर्ड बाई’ प्रायोजकको रूपमा यामाहा जोडिएको छ । नेपालमा क्रिकेट खेलप्रति बढ्दो आकर्षण र जनभावनासँग जोडिएको खेललाई थप प्रवर्द्धन गर्ने उद्देश्यसहित यामाहाले प्रतियोगितासँग सहकार्य गरेको हो ।

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको नयाँ सिजन सुरु भएसँगै यामाहालाई आधिकारिक ‘पावर्ड बाई’ प्रायोजक घोषणा गरिएको हो । एमएडब्लूका म्यानेजिङ डाइरेक्टर विष्णु अग्रवालले युवा खेलाडीहरूको सपना साकार पार्ने र नेपाली खेलकुदको उत्साहलाई सम्मान गर्ने लक्ष्यसहित सहकार्य गरिएको जानकारी दिए ।

नेपाल क्रिकेट सङ्घद्वारा हरेक वर्ष आयोजना हुने प्रधानमन्त्री कप देशकै प्रमुख घरेलु क्रिकेट प्रतियोगिता हो । एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा प्रत्यक्ष प्रसारण, मोटरसाइकल तथा नगद पुरस्कारसहित विभिन्न प्रमुख अवार्डहरू वितरण गरिनेछ । पोस्ट–म्याच कार्यक्रममार्फत ब्रान्ड भिजिबिलिटी पनि उच्च स्तरमा रहने सम्झौतामा उल्लेख गरिएको छ ।

नेपालमा यामाहाले उत्कृष्ट प्रदर्शनप्रतिको प्रतिबद्धताका कारण आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । फुटबल क्लब काठमाडौँ रेजर्ससँगको सहकार्यदेखि युवामैत्री विभिन्न पहलमार्फत यामाहाले प्रतिभालाई निरन्तर साथ दिँदै आएको छ । अब प्रधानमन्त्री कपसँगको सहकार्यले क्रिकेट खेलप्रति पनि ब्रान्डको प्रतिबद्धता थप मजबुत बनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई यस वर्ष अझ आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र ‘प्लेयर अफ द म्याच’ लाई जनही एक–एक वटा यामाहा सलुटो मोटरसाइकल प्रदान गरिनेछ ।

प्रतियोगिता वीरगन्ज, जनकपुर, माथिल्लो मुलपानी र तल्लो मुलपानीलगायत देशका प्रमुख मैदानहरूमा सञ्चालन हुनेछ । सातै प्रदेशका टोलीहरूका साथै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ गरी कुल १० टोलीबीच प्रतिस्पर्धा हुने छ ।

नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्काले यामाहाको सहभागिताले घरेलु क्रिकेट थप मजबुत हुने विश्वास व्यक्त गरे । उनले यस्ता सहकार्यले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने बताए ।

एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले प्रतियोगितालाई समर्थन गर्न पाउँदा गर्व लागेको उल्लेख गरे । कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले पनि यामाहा सधैँ सपनाको शक्तिमा विश्वास गर्ने र पीएम कप जस्तो मञ्चबाट भविष्यका स्टार खेलाडीहरू जन्मिने विश्वास व्यक्त गरे ।

यामाहाले देशभरका क्रिकेटप्रेमीलाई प्रतियोगितामा सहभागी भई समर्थन जनाउन आह्वान समेत गरेको छ । यस वर्षको संस्करण अघिल्ला संस्करणहरूभन्दा अझ भव्य, प्रतिस्पर्धात्मक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ ।