काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा महत्वपूर्ण प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची तय गरिएको छ ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय का अनुसार बैठकमा तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सोही बैठकमा गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश, २०८२’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी, राष्ट्रियसभाको बैठक आज अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्नेछ । उक्त बैठकमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दंगाल ले लिलाकुमारी भण्डारी लाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछन् ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह ले राष्ट्रिय मानवअधिकार आयोगको गत आर्थिक वर्ष २०८०/०८१ को २४औँ वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची पनि तय गरिएको छ ।
आजको बैठकले महत्वपूर्ण विधेयक तथा प्रस्तावहरूमा छलफल गरी निर्णय प्रक्रिया अगाडि बढाउने अपेक्षा गरिएको छ ।
