काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्रको दोस्रो बजार अबदेखि शुक्रबार पनि पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरकारले इन्धन खपत घटाउने र वैदेशिक मुद्रा सञ्चिति जोगाउने उद्देश्यसहित सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले नयाँ कार्यतालिका लागू गरेको हो ।
नेप्से सञ्चालक समितिको पछिल्लो बैठकले लगानीकर्ताहरूलाई साताको पाँच दिन कारोबार गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले शुक्रबार पनि नियमित कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसअघि आइतबारदेखि बिहीबारसम्म नियमित कारोबार हुने र शुक्रबार ‘अड लट’ (थोरै कित्ता) को मात्र कारोबार हुने व्यवस्था थियो । अब नयाँ व्यवस्थाअनुसार आइतबार बजार बन्द रहनेछ भने शुक्रबार अन्य कार्यदिनसरह पूर्ण समय कारोबार हुनेछ ।
शुक्रबार पनि कार्यालय समय साँझ ५ बजेसम्म कायम रहनेछ र सोही अवधिमा शेयर किनबेचका सम्पूर्ण प्रक्रिया सम्पन्न हुनेछन् । यसका लागि सम्बन्धित निकाय तथा प्राविधिक विभागहरूलाई प्रणाली अद्यावधिक गर्न निर्देशन दिइसकिएको नेप्सेले जनाएको छ ।
यसअघि २०७९ सालमा पनि सरकारले दुई दिने बिदा लागू गर्दा नेप्सेले शुक्रबार कारोबार सञ्चालन गरेको अनुभव रहेको छ । सोही अनुभवका आधारमा यसपटक पनि प्राविधिक तथा व्यवस्थापकीय रूपमा कुनै समस्या नआउने विश्वास व्यक्त गरिएको छ ।
यसैबीच, नेप्सेले स्टक डिलरहरूको कार्यविधिमा समेत केही महत्वपूर्ण संशोधन गर्दै बजारमा संस्थागत लगानीकर्ताको सहभागिता थप सहज र प्रभावकारी बनाउने प्रयास गरेको छ ।
यो निर्णयसँगै लगानीकर्ताहरूले अब साताको पाँच दिन नै कारोबार गर्न पाउने भएका छन् । यसले शेयर बजारलाई थप सक्रिय, चलायमान र लगानीमैत्री बनाउने अपेक्षा गरिएको छ ।
