काठमाडौँ । नेपालको लुब्रिकेन्ट्स बजारमा स्वदेशी ब्रान्ड ‘अपोलो’ र ‘गुडराइड’ उत्पादन गर्दै आएको पल्लवी लुब्रिकेन्ट्स लिमिटेड को व्यापारिक ग्राफ पछिल्ला वर्षहरूमा उत्साहजनक रूपमा उकालो लागेको देखिएको छ ।
सन् २०२२ मा प्राइभेट लिमिटेडका रूपमा स्थापना भई सन् २०२४ जुनमा पब्लिक लिमिटेडमा रूपान्तरण भएको कम्पनीले छोटो समयमै बजार विस्तार गर्न सफलता हासिल गरेको हो ।
चालू आर्थिक वर्ष २०२५/२६ को पहिलो सात महिनामा (मध्य–फेब्रुअरी २०२६ सम्म) कम्पनीले १८ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सवारी साधनको चहलपहल बढ्ने वर्षको दोस्रो छ महिनामा व्यापार अझै वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०२४/२५ मा कम्पनीको कारोबार ४० करोड २० लाख रुपैयाँ पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब ६६ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०२३/२४ मा २४ करोड २० लाख र स्थापना वर्ष २०२२/२३ मा ४ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चार वर्षमै उल्लेख्य प्रगति गरेको देखिन्छ ।
नाफा कमाउने क्षमतामा पनि कम्पनीले सुधार देखाएको छ । सन् २०२३ मा ऋणात्मक रहेको सञ्चालन नाफा मार्जिन सन् २०२४ मा ९.९९ प्रतिशत पुगेको थियो भने सन् २०२५ मा बढेर १३.३३ प्रतिशत पुगेको छ । सन् २०२६ को पहिलो सात महिनामा यो मार्जिन १५.८९ प्रतिशत कायम भएको छ ।
खुद नाफातर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ । सन् २०२४ मा ७० लाख रुपैयाँ मुनाफा कमाएको कम्पनीले सन् २०२५ मा २ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
ऋण व्यवस्थापनमा पनि कम्पनी बलियो बन्दै गएको छ । सन् २०२४ मा ३.०४ गुणा रहेको ब्याज कभरेज अनुपात सन् २०२५ मा ३.३१ गुणा पुगेको छ । साथै सञ्चालकहरूबाट थपिएको ११८ करोड ७० लाख रुपैयाँ पूँजीका कारण ऋण–स्वपूँजी अनुपात सन् २०२४ को ४.०२ गुणाबाट घटेर सन् २०२५ मा १.५४ गुणा र सन् २०२६ को सात महिनामा ०.७४ गुणामा झरेको छ ।
कम्पनीको वित्तीय अवस्थालाई मूल्यांकन गर्दै केयर रेटिङ्स नेपाल ले ‘केयर–एनपी बीबी प्लस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यमस्तरको जोखिम भए पनि दायित्व पूरा गर्ने क्षमता रहेको संकेत गर्दछ ।
पल्लवी लुब्रिकेन्ट्सले भारत र अस्ट्रेलियाबाट कच्चा पदार्थ आयात गरी लुब्रिकेन्ट्स तथा ग्रिज उत्पादन गर्दै आएको छ । राठी ग्रुप को लगानी रहेको कम्पनीको नेतृत्व अनुभवी व्यवसायी श्याम राठी र प्रबन्ध निर्देशक अरुण बियानी ले गरिरहेका छन् ।
हाल ४० भन्दा बढी डिलरमार्फत देशभर सञ्जाल विस्तार गरेको कम्पनीका लागि कच्चा तेलको मूल्यमा उतारचढाव र विदेशी मुद्रा विनिमय दर मुख्य चुनौतीका रूपमा रहेका छन् ।
