लाइसेन्स छपाइमा तीव्रता, लक्ष्य पूरा हुने आशा

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइको चाप दिनप्रतिदिन बढ्दै जाँदा हाल करिब ३० लाख लाइसेन्स छापिन बाँकी रहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार दैनिक करिब ७–८ सय लाइसेन्स अत्यावश्यक रूपमा वितरण भइरहेका छन् । विदेश अध्ययन, वैदेशिक रोजगारी तथा शान्ति मिसनमा जाने सेवाग्राहीलाई प्राथमिकतामा राखेर तत्काल वितरण भइरहेको विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीले जानकारी दिए ।

बढ्दो चाप व्यवस्थापनका लागि गत कार्तिक महिनामा सुरक्षण मुद्रण केन्द्रसँग ६ महिनाभित्र १२ लाख लाइसेन्स छाप्ने सम्झौता गरिएको थियो । उक्त लक्ष्य पूरा गर्ने तयारीमा केन्द्र रहेको बताइएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाका अनुसार पछिल्लो समय छपाइको गति उल्लेख्य रूपमा बढेको छ । गत हप्ता दैनिक २५ हजार छपाइ भइरहेकोमा हाल दैनिक ५० हजारसम्म लाइसेन्स छाप्ने काम भइरहेको उनले बताए ।

केन्द्रले हालसम्म करिब सवा लाख लाइसेन्स छापेर विभागलाई बुझाइसकेको छ । बाँकी लक्ष्य पनि समयमै पूरा गर्ने तयारी भइरहेको ढुङ्गानाको भनाइ छ ।

हाल विभागले करिब १.५ लाख लाइसेन्सको मात्रै विवरण केन्द्रलाई उपलब्ध गराएको छ भने बाँकी लाखौँ लाइसेन्सको डेटा पठाउने तयारी भइरहेको छ ।

यसैबीच, लाइसेन्स छपाइ प्रणालीलाई प्रदेश तहमा विस्तार गर्ने योजना भए पनि नीतिगत अन्योलका कारण पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । कतिपय प्रदेशले आफ्नै प्रिन्टर खरिद गरिसके पनि ऐन संशोधनका कारण प्रयोगमा ढिलाइ भएको जनाइएको छ ।

सुरक्षण मुद्रण केन्द्रले अब बाँकी सबै लाइसेन्स छाप्न आवश्यक सामग्री उपलब्ध भएसँगै चालु आर्थिक वर्षभित्रै लक्ष्य पूरा गर्न सकिने दाबी गरेको छ ।

छपाइ प्रक्रिया तीव्र बनेसँगै अब सेवाग्राहीले लामो समयसम्म चिट बोकेर हिँड्नु नपर्ने अपेक्षा गरिएको छ । साथै, भविष्यमा लाइसेन्स वितरणलाई डिजिटल प्रणालीतर्फ लैजाने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।

— बीबीसी नेपाली सेवा