काठमाडौँ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी ले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदाले आन्तरिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले यो निर्णयलाई सकारात्मक कदम भन्दै यसले हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताए ।
जोशीका अनुसार लामो समयदेखि पर्यटन प्रवद्र्धनका लागि दुई दिने बिदाको माग हुँदै आएको भए पनि अब कार्यान्वयनमा आएसँगै आन्तरिक पर्यटकको यात्रा गतिविधि बढ्ने अपेक्षा गरिएको छ ।
उनले आन्तरिक पर्यटन नयाँ गन्तव्यतर्फ विस्तार हुँदा त्यहाँ लगानीका अवसर बढ्ने र दीर्घकालमा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न आधार तयार हुने बताए ।
शिक्षित तथा बौद्धिक वर्गले अब थप समय पाएर आफ्ना यात्रा अनुभव र आइडिया साझा गर्न सक्ने हुँदा आर्थिक गतिविधि समेत चलायमान हुने उनको भनाइ छ ।
साथै, कर्मचारीहरूले परिवारलाई समय दिन नसक्ने अवस्था कम हुँदै जाने र कार्यालय समय व्यवस्थापनले कार्यशैली तथा सोचमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको उनले बताए ।
जोशीले व्यवसायीहरूलाई लक्षित गर्दै सरकारले दिएको बिदालाई आधार बनाएर आकर्षक पर्यटन प्याकेजहरू ल्याउन आग्रह गरे । उनले ती प्याकेजलाई नेपाल पर्यटन बोर्डले प्रवद्र्धन गर्ने स्पष्ट पारे ।
उनका अनुसार सेवा गुणस्तर, आतिथ्यता र सरसफाइमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसका लागि बोर्डले जनचेतनामूलक भिडियोहरू पनि निर्माण गरिरहेको उनले जानकारी दिए ।
जोशीले निर्णय र कार्यान्वयन प्रक्रियामा आएको सुधारको प्रशंसा गर्दै मन्त्रिपरिषद्को निर्णय केही घण्टामै राजपत्रमा प्रकाशित हुनु उदाहरणीय अभ्यास भएको बताए ।
