काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको हालै सम्पन्न २६औँ साधारण सभा तथा १३औँ अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिँदै औपचारिक रूपमा कार्यभार सम्हालेका छन् ।
मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता टंक प्रसाद दुलालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सपथ गराएका हुन् ।
सपथ ग्रहणपछि आयोजित कार्यक्रममा बोल्दै महासंघका नवनिर्वाचित अध्यक्ष निकोलस पाण्डेले आफू कर्ममा विश्वास गर्ने व्यक्ति भएको उल्लेख गर्दै सबै तह र तप्काका निर्माण व्यवसायीहरूको समग्र विकासका लागि इमान्दार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले विभागीय मन्त्रीसँगको छलफलमा निर्माण उद्योगमा देखिएका समस्याहरूबारे सशक्त रूपमा ध्यानाकर्षण गराएको जानकारी दिँदै क्रमशः सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रवि सिंह, निवर्तमान वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) लगायतले निर्माण क्षेत्रको बृहत्तर हितका लागि निरन्तर साथ र सहयोग रहने धारणा व्यक्त गरेका थिए ।
