काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा नेपालको आर्थिक वृद्धिदर ४.०५ प्रतिशत पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार अघिल्लो वर्षको सोही अवधिको तुलनामा अर्थतन्त्रमा उल्लेख्य सुधार देखिएको हो ।
प्रतिवेदनका अनुसार विद्युत् उत्पादनमा वृद्धि, वित्तीय क्षेत्रको निक्षेप तथा कर्जा प्रवाहमा सुधार र पर्यटन आगमनमा बढोत्तरीले समग्र आर्थिक वृद्धिमा सकारात्मक प्रभाव पारेको छ । अर्थतन्त्रका कुल १८ वटा औद्योगिक वर्गीकरणमध्ये सबै क्षेत्रमा धनात्मक वृद्धिदर देखिएको उल्लेख गरिएको छ ।
दोस्रो त्रैमासिकमा सबैभन्दा उच्च वृद्धि विद्युत्, ग्याँस, बाफ तथा वातानुकूलित आपूर्ति क्षेत्रमा २२.७४ प्रतिशत रहेको छ । नयाँ आयोजनाबाट विद्युत् उत्पादन बढ्नु यसको मुख्य कारण मानिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाको गतिविधिमा सुधार आउँदा वित्तीय तथा बिमा क्षेत्रमा १२.५१ प्रतिशत वृद्धि भएको छ ।
यातायातका साधनको प्रयोग र आर्थिक गतिविधि बढेसँगै यातायात तथा भण्डारण क्षेत्रमा ९.६५ प्रतिशत वृद्धि देखिएको छ । पर्यटन क्षेत्र सुधारिँदा होटल तथा रेस्टुरेन्टसम्बद्ध आवास तथा भोजन सेवा क्षेत्रमा ५.१८ प्रतिशत वृद्धि भएको छ भने थोक तथा खुद्रा व्यापार क्षेत्रमा ४.११ प्रतिशतको सुधार आएको छ ।
कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा २.२१ प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ । धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा वृद्धि हुँदा यो क्षेत्र सकारात्मक बनेको हो । निर्माण क्षेत्रमा ४.३१ प्रतिशत र खानी तथा उत्खनन क्षेत्रमा ३.१६ प्रतिशत वृद्धि देखिएको छ ।
सेवा क्षेत्रतर्फ पेशागत, वैज्ञानिक तथा प्राविधिक क्रियाकलापमा ५.३ प्रतिशत, प्रशासनिक तथा सहयोगी सेवामा ३.९ प्रतिशत र अन्य सेवामा ३.२ प्रतिशत वृद्धि भएको छ । सूचना तथा सञ्चार क्षेत्रमा ३.१ प्रतिशत र घरजग्गा कारोबारमा २.७ प्रतिशत सुधार देखिएको छ भने उत्पादनमूलक उद्योगमा २.२ प्रतिशतको सामान्य वृद्धि रहेको छ ।
केही क्षेत्रमा भने वृद्धिदर अपेक्षाकृत कम देखिएको छ । स्वास्थ्य तथा सामाजिक कार्यमा १.९ प्रतिशत, शिक्षा क्षेत्रमा १.३४ प्रतिशत र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा १.११ प्रतिशत वृद्धि भएको छ । सबैभन्दा कम वृद्धि पानी आपूर्ति, ढल निकास तथा फोहोर व्यवस्थापन क्षेत्रमा ०.५५ प्रतिशत मात्र रहेको छ ।
त्रैमासिक आधारमा हेर्दा पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा मौसमी प्रभाव समायोजित वृद्धिदर २.०४ प्रतिशत रहेको छ । १८ मध्ये १६ क्षेत्रमा सुधार देखिए पनि खानी तथा उत्खनन र निर्माण क्षेत्रमा सामान्य गिरावट देखिएको छ । यस अवधिमा सबैभन्दा बढी सुधार यातायात तथा भण्डारण क्षेत्रमा ६.२० प्रतिशत रहेको छ ।
विगतका वर्षहरूको तुलनामा नेपाली अर्थतन्त्रले क्रमशः लय समात्दै गएको देखिएको छ । आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिकमा १.० प्रतिशतले ऋणात्मक रहेको वृद्धिदर अहिले ४.०५ प्रतिशतमा पुग्नु सकारात्मक संकेतका रूपमा लिइएको छ ।
यद्यपि, धान उत्पादनमा आएको कमी र निर्माण सामग्रीको आयात घट्नुका कारण अपेक्षितभन्दा उच्च वृद्धि हासिल हुन नसकेको प्रतिवेदनले निष्कर्ष निकालेको छ ।
